- संगालोखबर सम्वाददाता

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा नं.३ र वडा नं.७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका-४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् ।

पाख्रीवास वडा नं.३ ले कालीमाटी र वडा नं.७ ले होक्से टोलमा वडा कार्यालय भवन निर्माण गर्न लागेको हो । शुक्रबार होक्से टोलस्थित भवन निर्माण स्थलमा इँटा राखेर मन्त्री राईले ७ नं. वडा कार्यालय भवन शिलान्यास गरे । ७५ लाखको लागतमा बनाउँन लागिएको सो भवन आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्नेगरी भोजपुरको मिडहिल इन्फास्टक्चर प्रा.लि.सँग सम्झौता भएको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । सो भवन निर्माण गर्न वडा सदस्य चन्द्रबहादुर तामाङले दुई रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

७ नं.को वडा कार्यालय भवन शिलान्यास सकेर वडा नं.३ पुगेका मन्त्री राईले त्यहाँ पनि वडा कार्यालय भवन शिलान्यास गरे । स्थानीय हर्कबहादुर राईले निःशुल्क प्रदान गरेको दुई रोपनी क्षेत्रफलको जग्गामा ४४ लाख खर्च गरेर भवन बनाउँन लागिएको हो । आगामी असार १० गतेभित्र काम सक्ने गरी काठमाडौंको एमकेए ग्रुप प्रा.लि.ले भवन निर्माणको जिम्मा लिएको वडाध्यक्ष सरोज राईले जानकारी दिए ।

यसअघि मन्त्री राईले बिहीबार सहिदभूमिको कन्यादेवी माध्यमिक विद्यालयको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन गरेका थिए । विद्यालयमा आयोजित कार्यक्रममा उनले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरे । ६७ लाखको लागतमा भवन बनाइएको हो । सो विद्यालयमा २६८ जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया