विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा-दुलही हुन्छन्, उनीहरूसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितिले विवाहमा भीडभाड हुन्छ । तर, कोशी प्रदेशको राजधानी विराटनगरस्थित अतिथि सदनमा विहीबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामूहिक विवाह गरेका छन् ।
सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको सामूहिक विवाह गरिदिएको हो । सामूहिक विवाह गर्नेमा मोरङको जहदा गाउँपालिकाका १२ जोडी छन् भने कटहरी र झापाका युवायुवती पनि विवाह बन्धनमा बाँधिएका छन् ।
उनीहरु स्थानीय विराटेश्वर मन्दिरमा भेला भई सिटीरिक्सा चढेर अतिथि सदन आएका थिए । त्यहाँ प्रत्यक जोडीका लागि फरक-फरक जग्गे बनाइएको थियो । उनीहरूलाई पुरोहितले धार्मिक परम्परा अनुसार विवाह गरिदिए । एकै प्रकारको पोसाकमा सजिएका दुलाहा–दुलहीको सामूहिक विवाहले आसपास क्षेत्रका मानिसको ध्यान खिच्यो, उनीहरु अचम्मित भएर सामूहिक विवाहको दृष्यावलोकन गरिरहेका थिए ।
यत्ति ठूलो सङ्ख्यामा युवा–युवतीले सामूहिक विवाह गरेको पूर्वी नेपालमा सम्भवत पहिलो घटना भएको धेरैको आकलन छ । सामूहिक विवाहका लागि करिब ६ महिना अघिदेखि तयारी थालिएको थियो । झन्डै ३० लाख खर्च गरेर विपन्न समुदायका युवा–युवतीको विवाह गरिदिएको माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष पुनम राठीले जानकारी दिइन् ।
मञ्चको तर्फबाट दुलहीलाई १ थान सुनको तिलहरीसहित सुनचाँदीका गहना, दराज, ओढ्ने/ओछ्याउँने कपडा लगायत सामाग्री प्रदान गरियो । दुलहीको नाममा ५ वर्षसम्मका लागि एघार हजारको मुद्दती खाता पनि खोलिएको छ । बैंक खातामा रहेको पैसा ५ वर्षपछि मात्र झिक्न पाउने व्यवस्था मिलाइएको मञ्चले जनाएको छ ।